काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। नवरात्रको नवौँ दिन दुर्गा भवानीको विधिपूर्वक पूजा गरी धार्मिक आस्था र परम्पराअनुसार यो पर्व मनाउने गरिन्छ।
महानवमीका अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत तथा देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गर्नुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल बलिका रूपमा चढाउने गर्छन्। कतिपय स्थानमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ भने केही शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा पनि छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।
आज पूजा कोठा वा दसैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने चलन पनि छ। यसै अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत आराधना गरिन्छ।
महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गरिन्छ। हनुमानढोका दरबार क्षेत्रका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने परम्परा छ।
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ऐतिहासिक तलेजु भवानी मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारण भक्तजनका लागि खुला गरिँदैछ। वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने मन्दिरमा दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्छ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार मन्दिर खुला गरी भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको छ।
परम्पराअनुसार तलेजु भवानीलाई फूलपातीका दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याएर विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको राति मूलचोकमै राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पसहित तान्त्रिक विधिबाट कालरात्रि पूजा गरिएको थियो। उक्त पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइएको जनाइएको छ।
विजयादशमीका दिन बिहान निर्धारित साइतमा देवीलाई पुनः मूल मन्दिरमा फर्काइनेछ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको महानवमीले नेपाली समाजमा परम्परा र आस्थालाई निरन्तरता दिँदै आएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो