पैगम्बर मोहम्मदको १५०१औँ जन्मजयन्ती आज मनाइँदै

Jantedhunga

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिस्सलामको १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले सन्देष्टाका रूपमा मान्ने पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको धार्मिक विश्वास छ। पछि उहाँ मदिना जानुभएको थियो। उहाँको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत्को सुरुआत भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।

मक्का र मदिनालाई मुस्लिम समुदायले पवित्र धार्मिक स्थलका रूपमा मान्दै आएको छ। पैगम्बर मोहम्मदलाई कुरानको सन्देश प्राप्त भएको विश्वास मुस्लिम समुदायमा रहेको छ। कुरान अवतरणपछि मक्का–मदिना इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ।

इस्लाम धर्मावलम्बीका लागि मक्का हजको प्रमुख तीर्थस्थल हो। आर्थिक तथा शारीरिक रूपमा सक्षम मुस्लिमले जीवनमा कम्तीमा एकपटक मक्कामा हज गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।

पैगम्बर मोहम्मदले दिनुभएको धार्मिक तथा सामाजिक सन्देशलाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायतका स्थानमा विशेष कार्यक्रम, र्‍याली तथा सभा आयोजना गरिएका छन्।

जन्मजयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदासमेत दिएको छ।

Jantedhunga
प्रतिक्रिया