पोखरामा स्कुल बस दुर्घटना : ४ विद्यार्थीसहित ५ जनाको मृत्य

Jantedhunga

पोखरा, असोज २३ । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि गरिएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन् ।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस शुक्रबार बिहान कालिका क्षेत्रस्थित ओख्लेको भिरबाट खसेर दुर्घटनामा परेको हो । प्रारम्भिक विवरणअनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ । उद्धार कार्य सम्पन्न भएपछि मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाइने एसपी कार्कीले बताएका छन् ।

दुर्घटनाग्रस्त बसमा चालकसहित २५ जना सवार रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न विद्यालयतर्फ जाँदै थिए । दुर्घटनामा परेका विद्यार्थीहरू कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया