केशव दाहाल
सुनसरी । अपराधिक काममा संलग्न ठहरिएका व्यक्तिहरुले आफ्नो अपराध कर्ममा पश्चाताप गरुन् र चरित्र तथा आनिबानी सुधार गरी समाजमा पुनस्र्थापनाका लागि योग्य बनुन् भनेर कारागारामा राख्ने गरिन्छ त्यसैले कारागारलाई सुधार गृह पनि भनिन्छ तर नेपालका कारागारहरु सुधार गृह हैन, यातना गृह र केही व्यक्तिहरुका लािग कमाउ अड्डा र कैदीबन्दीरुहरुका लागि अपराध सिक्ने तथा अपराधिक सम्बन्ध बिस्तार गर्ने पाठशालाका रुपमा विकास हुँदै आएका छन् ।
हाल नेपालमा काठमाडौं जिल्लामा जगन्नाथदेवल सुन्धारा र डिल्लीबजार (चारखाल) र दाङ जिल्लामा घोराई र तुलसीपुर गरी २÷२ वटा र भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुम बाहेक ७० जिल्लामा १÷१ वटा गरी मुलुकभर ७४ वटा कारागारहरुमा करिब ३० हजारको संख्यामा कैदीबन्दीहरु रहेका छन् । राज्यबाट न्युनतम् सेवा सुविधा पाउने कैदीबन्दीहरु माथि जेल प्रशासन, जेलको सुरक्षा प्रशासन, कारागार व्यवस्थापन विभाग, गृहमन्त्रालय, राजनैतिक नेता र डन तथा गुण्डाहरुको संरक्षणमा आन्तरिक प्रशासनको नाममा हुने ज्यादती शाररिरिक तथा मानसिक यातना र श्रमशोषणको कहाली लाग्दो अवस्था रहेको छ ।
यिनै ७४ वटा कारागारमध्ये कोशी प्रदेशको सबैभन्दा ठूलो झुम्का कारागारा भित्र कैदीबन्दीहरुमाथि हुने शारिरिक तथा मानसिक यातना, आर्थिक र श्रम शोषणको बारेमा खोतल्ने प्रयास गरेका छौं ।
महंगी
झुम्का कारागारमा रहेका २ वटा ब्लकभित्र टेलिफोन, किराना पसल, खाद्यान्न पसल, सब्जी पसल, होटल, मासु पसल, फलफुल पसल, जुस पसल, कपडा पसल लगायत दर्जनौं पसल रहेका छन भने लुँडो, क्यारेमबोर्ड, क्रिकेट, भलिबल, फुटबल, स्नोकर पुल लगायत खेलकुदहरु सञ्चालनमा छन् । कारागार प्रशासन र सुरक्षाकर्मीहरु समेतको मिलेमतोमा चौकिदारद्वारा सञ्चालित उक्त पसल व्यवसायहरुमा अत्याधिक महँगी र खेलहरुमा समेत मोटो रकम असुल्ने गरिन्छ भने बजारमा १० रुपैयाँ पर्ने १ प्याकेट खैनीको ८५ रुपैयाँ र १ खिल्ली खुकुरी चुरोटको मूल्य २५ रुपैयाँ पर्दछ ।
कारागारभित्र दुई वटै ब्लकमा एनसेल र एनटिसीको सिम लाग्ने १५÷१५ वटा टेलिफोन सञ्चालित छन् । सिमबाट भ्वाईस प्याक किनी बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन हुने उक्त फोनमा एनसेलबाट एनसेल कल गर्दा प्रतिमिनेट रु.७ र एनटिसीबाट एनटिसीमा कल गर्दा प्रतिमिनेट रु. ६ तिर्नु पर्दछ । चिया पसलमा १ कप स्पेसल चियाको रु.८० र लोकल चियाको ६० रुपैयाँ पर्दछ । दैनिक उपभोग्य वस्तु बजारमा ४० रुपैयाँ पर्ने सामान्य साबुन, मन्जनलाई १०० रुपैयाँ र एउटा सामान्य टुथब्रसलाई १ सय ४० रुपैयाँ पर्दछ । किराना पसलमा पाइने अधिकतम् खुद्रा मुल्य (एमआरपी) उल्लेखित सामानहरुमा २५० प्रतिशत भन्दा माथि मूल्यमा मात्र खरिद गर्न पाईन्छ । बजारमा १ सय देखी १ सय ५० रुपैयाँसम्म पर्ने चप्पल, गन्जी, कट्टुुलगायत सामानको न्युनतम् मूल्य ६ सय रुपैयाँ तोकिएको छ भने बजारमा १० रुपैयाँ पर्ने मौसमी सब्जीको न्युनतम् मूल्य १ सय ५० रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । केही बन्दीहरुका घरपरिवार र आफन्त भेटघाटमा आउँदा ब्रस, पेष्ट, साबुन, विस्कुट, चिउरा, भुजियालागयत खाद्यान्न सामग्री, लत्ताकपडा, चप्पल, जुत्ता लगायत सामग्री ल्याई दिएमा भन्सार र भ्याट भन्दै अधिकतम् मूल्यको १ सय ५० देखि २५० प्रतिशत सम्म पैसा असुलिन्छ । साथै घरबाट किन सामान मगाएको भनेर शारिरिक तथा मानसिक यातना समेत दिईन्छ ।
धुम्रपान, मध्यपान, लागुऔषध, ढाइस, जुवा अनि सट्टेबाजी
कारागारको दुई वटै क्लकभित्र खैनी, सुर्ती, बिडी, गुट्का खुल्ला बिक्री हुने गरेको छ । ढाइस, हाउजी, लुडो लगायत खेल खेल्न सबैलाई खुल्ला छ भने पैसावालाहरुले जुवा, तास खेल्न र लागु औषध सेवन गर्ने समेत व्यवस्था मिलाईएको छ भने प्रतिवन्धित औषधीहरुको मात्रा मिलाई लागु औषध तयार पारी दैनिक ५ सय रुपैयाँ अर्थात् एक व्यक्ति बराबर मासिक १५ हजार रुपैयाँमा विक्री गरिन्छ ।
राज्यबाट प्राप्त सेवा सुविधा र श्रमको ज्याला
सरकारले कैदीबन्दीहरुको लागि उपलब्ध गराउने दैनिक ८० रुपैयाँ र ७५० ग्राम चामल, सिरक, डसना, जाडो र गर्मीमा उपलब्ध गराउने पोशाक वापतको भत्ता, चाडपर्व खर्च, बिरामीहरुको लागि उपलब्ध अतिरिक्त सुविधा लगायत सबै सेवा सुविधा चौकिदारले एकमुष्ट बुभेर लिने गर्दछन् । सम्पूर्ण सेवा सुविधा वापत बिहान बेलुका गाई वस्तुलाई खुवाउने कुँडो जस्तो खाना बनाएर वितरण गरिन्छ । सामान्य खाना खानु परे १० दिनको न्युनतम् २०० देखि १ हजारसम्म अतिरिक्त रकम बुझाउनु पर्दछ । सिरक, डसनासमेत आफै किन्न बाध्य पारिन्छ भने सरसफाई, जेनेरेटर तेल खर्चलगायत सुतेको रकम भनेर १० दिनको प्रति व्यक्ति २५० र चाडपर्वको बेला १० दिनको १ हजारसम्म अर्थात् प्रतिव्यक्ति मासिक ७५० देखि ३ हजारसम्म अतिरिक्त रकम असुल गरिन्छ । घरपरिवारले खर्च पठाउँदा समेत १ हजारको १००, ३ हजारसम्मको २ सय, ५ हजार सम्मको ३ सय सेवा शुल्क भनेर कट्टा गरिन्छ । अतिरिक्त शुल्क तिर्न नसक्ने कैदीबन्दीहरुलाई अंगभंग हुने गरी कुटपिट गरि कारागारमा रहुञ्जेल चोकिदारद्वारा सञ्चालित फर्निचर उद्योग, मुढा कारखाना वा अन्य काममा १८ घण्टासम्म काम गर्न बाध्य पारिन्छ ।
हरेक वर्ष गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल सरकारको सिफारिसमा नकरात्मक सुचीमा परेका केही मुद्दा बाहेकका मुद्दाहरुमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुको बाँकी सजाय माफि मिनाहा र केही कैदीहरुलाई आममाफी दिने कानुनी व्यवस्था अनुसार माफी मिनाहाको लागि आवश्यक कागजात बुझाउन समेत मुद्दाको प्रकृति हेरी ३० हजार देखि ५० हजारसम्म रकम बुझाउन नसक्ने बन्दीहरुलाई माफी मिनाहको लागि सिफारिस समेत गरिदैन । स्वास्थ्य अवस्था, भेटघाट, मुद्दा विभिन्न कारणले अर्को जेल सरुवा मिलाएर जानुपर्ने भएमा चौकिदारलाई १ लाख रुपैयाँ अग्रीम बुझाएपछि मात्र निवेदन दर्ता गर्न पाइन्छ भने कैयन व्यक्तिहरुसँग रकम असुल गरेर सरुवा नगरी दिएको अवस्था विद्यमान छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधि समेत किन्नु पर्ने र सिकिस्त बिरामी हुँदा समेत सरकारी अस्पताल नलैजाँदा सक्नेले धरान, विराटनगरसम्म ७ हजार गाडी भाडा तिरेर निजी अस्पतालमा महँगो उपचार गर्नुपर्ने र आर्थिक रुपमा विपन्नहरुले छटपटाउँदै अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था रहेको छ ।
कारागारमा चौकिदार र उसका आपेपासेद्धारा सञ्चालित पसल, व्यवसाय तथा कारखानामा १८ घण्टा सम्म काममा लगाए वापत १० दिनको ५ सय अर्थात् मासिक १ हजार ५ सय पारिश्रमिक दिईन्छ । मुढा बनाउने कार्पेन्टरलगायत सीपमूलक काम गर्नेहरुले १० दिनको १ हजार अर्थात् मासिक ३ हजारसम्म पारिश्रमिक पाइनेमा त्यो पनि कोठा थप शिर्षकमा आधा असुल गरिन्छ ।
शारिरीक र मानसिक यातना
कारागारमा कुनै पनि सामानको खरिदबिक्री नगदमा गर्न पाइन्न । घरबाट पठाएको पैसा पनि चोकिदारको आफन्तको नाममा पठाईदिनुपर्छ तर आवश्यक परेको बेला ल्याई दिँदैन । प्रत्येक महिनामा ३ पटक हिसाब किताब हुन्छ । १, ११ र २१ गते । उक्त दिन एक रुपैयाँ मात्र पैसा बुझाउन सकेन वा १ दिन ढिला भयो भने ब्लक ‘ए’ मा कोठा नम्बर ६ र ब्लक ‘बी’मा कोठा नम्बर ३६ मा लगेर १ महिनासम्म कुटपिट गरिन्छ । एकातर्फ नगद कारोबार गर्न नपाईने अर्कोतर्फ यिनीहरुकै मान्छेको नाममा घरबाट पठाइदिएको पैसा १ महिनासम्म नल्याईदिने अनि अनाहकमा यातना भोग्नु पर्ने अवस्था रहेको छ । अझ केही सुझबुझ भएका जोसुकै व्यक्तिलाई विना कारण नै उक्त कोठाहरुमा लगेर कुटपिट गरिन्छ । कुटपिट हुनुको कारण समेत बताइँदैन र सोध्न पनि पाईदैन । असल आचरण भएका र सुझबुझ भएका कैदीबन्दीहलाई मानसिक रुपमा कमजोर बनाउन र आतंकित गर्न दिनहुँ यस्ता घटना घटाइन्छ । जेल प्रशासनसँगको मिलेमतोमा रातारात अन्य जेलमा सरुवा गरिन्छ ।
चौकिदारको नियुक्ति र आम्दानीको बाँडफाँड
कारागार नियमावली २०२० (पन्ध्रौ संशोधन) नियमावली २०७९ ले कारागारमा चोकिदार, नाइके तथा सहनाइकेको नियुक्ति र सेवा सुविधाबारे उल्लेख गरेको छ । तर देशभरका कुनै पनि कारगारमा नियमावली अनुसार चौकिदार नियुक्त गरेको पाइँदैन । कारागारहरुमा चौकिदार नियुक्त गर्दा आर्थिक चलखेल र दल निकट स्थानीय वा गुण्डाहरुको चाहना अनुसार हुने गरेको पाइन्छ ।
झुम्का कारागारमा २०७९ चैत्रसम्म रानीतिक तथा आर्थिक चलखेल कम हुने गरेको र ब्लक ‘ए’ मा तुलनात्मक रुपमा कारागार सुधारको अवस्था र कैदीबन्दीहरुलाई शारिरिक तथा मानसिक यातना दिने क्रम रोकिएको अवस्थामा स्थानीय कांग्रेस कार्यकर्ता सिजन गुरुङको चाहना र तत्कालिन गृहमन्त्री बालकृष्ण खाँडको ठाडो आदेशमा तत्कालिन चौकिदार र केही नाइके तथा सहनाइकेहरुलाई देशका विभिन्न कारागारमा सरुवा गरी नयाँ चौकिदार नियुक्ति गर्ने क्रममा ५० बढी कैदीबन्दी घाइते हुनका साथै २० जना बढी गम्भिर घाइते र अंगभंग भएका थिए । त्यही समयबाट झुम्का कारागारमा राजीतिक तथा आर्थिक चलखेल तथा कैदीबन्दीमाथि चर्को यातना र शोषण सुरु भएको हो । त्यही समयबाट कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय जेल प्रशासक (जेलर) र गृहमन्त्रालय समेतको मिलेमतो (सेटिङ) मा कोही सामान्य व्यक्तिको नाममा चौकिदारको नियुक्ति पत्र बनाउने र गम्भिर प्रकृतिको मुद्दामा जेल सजाय भोगीरहेका मुद्दाको फैसलामा नभई पुर्पक्षको लागि थुनामा रहेका र गम्भिर अपराधिक पृष्ठभूमि भएका कैदीहरुले आन्तरिक प्रशसनको नाममा २ हजार बढी कैदीबन्दीहरु र अप्रत्यक्ष रुपमा उनीहरुको परिवारहरुलाई समेत पीडित बनाई रहेका छन् ।
२०७९ चैत्र पछि ब्लक ‘ए’ मा अपहरण तथा शरिर बन्धक मुद्दाका कैदी नेगेन केसीको समुहले आन्तरिक प्रशासन चलाएकोमा स्थानीय कांग्रेस कार्यकर्ता सिजन गुरुङलगायत जेलर, कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयसम्म तोकिएको मासिक नजराना बुझाउन नसकेपछि उनीहरुलाई अन्यत्र सरुवा गरी जवरर्जस्ती करणी मुद्दाका कैदी दिपेन भन्ने डिल्ली प्रसाद अधिकारी, जेल भित्रै कैदीलाई कुटपिट गरी मारे वापत थप सजाय भई २७ वर्षदेखि नियमित जेल बसेका सार्के तामाङ, रामजी ठाकुर, विक्रम गहतराजलगायतको समूहले र ब्लक ‘बी’ मा प्रज्वल तामाङ, राम राई, श्याम रसाइली, दुर्गा राई, प्रितेस लिम्बु, रामेश्वर लिम्बु, प्रकाश तामाङ लागयतको समूहले जेल चलाईरहेका छन् ।
कारागार व्यवस्था नियमावलीमा प्रत्येक आर्थिक वर्षमा चोकिदार, नाइके तथा सहनाइकेहरुको नियुक्ति गर्नुपर्ने एउटै व्यक्ति पटक पटक नियुक्ती हुन नपाउनेलगायतको व्यवस्था भए पनि सिजन गुरुङ, कमल तामाङलगायत स्थानीय कांग्रेस कार्यकर्ताहरुले जेल प्रशासन, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवथापन विभाग र गृहमन्त्रलायसम्म सेटिङ मिलाई सकेको र सम्भव भएसम्म ब्लक ‘ए’ मा दिपेन भन्ने डिल्ली प्रसाद अधिकारी र ब्लक ‘बी’ मा प्रज्वल तामाङलाई चौकिदार नियुक्त गर्ने र सम्भव नभए अन्य सिधासाधा कैदीको नाममा चोकिदारको नियुक्ति पत्र बनाई जेल कब्जा गर्ने र आम्दानीको हिसाबकिताब बाँडफाँड र सेटिङको काम पुरा भएको बताइको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो