खोटाङमा दस दिनको सुत्केरीको मृत्यु ।

Jantedhunga

खोटाङ, २८ कात्तिक ।

खोटाङमा १० दिनको सुत्केरीको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको मृत्यु भएको हो । 

गत कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमबार राती जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो । 

श्वास फेर्न अप्ठ्यारो भएपछि सुत्केरीलाई सोमबार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका चेकजाँचका क्रममा सामान्य देखिएपछि घर फर्किएकी थिईन् । 

राती पुःन श्वास फेर्न अप्ठ्यारो भएपछि अटोमा राखेर जिल्ला अस्पताल लगिएको थियो । 

स्वास्थ्यमा जटिल समस्य देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाडौं लैजाने तयारी गर्दागर्दै सुत्केरीको मृत्यु भएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताए । 

शैंजू खोटाङ अटोलिंक प्रालिमा कार्यरत थिइन् । ‘जमेको रगत फोक्सोमा पुगेका’ कारण श्वास प्रश्वासमा समस्या निम्तिएर सुत्केरीको मृत्यु भएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताए । 

डा. श्रेष्ठका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । शैंजुले जिल्ला अस्पतालमै नर्मल तरिकाले पहिलो बच्चा जन्माएकी थिईन् ।

Jantedhunga
प्रतिक्रिया