सर्बोच्च अदालतको पूर्ण बैठकका ५ निर्णय

Jantedhunga

काठमाडौं, कार्तिक १६ गते । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार बसेको पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता, प्रकाशित समाचारको निष्पक्ष छानबिन तथा न्यायपालिकाको गरिमासँग सम्बन्धित पाँचवटा निर्णय गरेको हो।

बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको छ।

त्यस्तै, सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा बिना पूर्वाग्रह निष्पक्ष र स्वतन्त्र ढंगबाट संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। सञ्चारमाध्यममा आएका समाचारबारे हुने कानुनी छानबिन तथा अनुसन्धानमा आफूहरूले कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्दै सहयोग गर्ने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने कुरामा ध्यान दिन आग्रह गरिएको छ।

छानबिनको निष्कर्ष प्राप्त हुनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई सधैँझैँ न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गरेको छ।

सर्वोच्च अदालतले २०८३ कात्तिक १६ गते बसेको पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै सम्बन्धित सबैको जानकारीका लागि प्रेस विज्ञप्ति जारी गरेको हो।

Jantedhunga
प्रतिक्रिया