एमालेका ६ मन्त्रीले आज राजीनामा दिने : बागमती सरकारबाट समर्थन पनि फिर्ता

Jantedhunga

हेटौंडा ।बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। एमालेले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको छ, जससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार संकटमा परेको छ।

एमालेका मन्त्रीहरूले आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटी राजीनामा बुझाउने तयारी गरेका छन्।

यसअघि मन्त्रिपरिषद् बैठक सकेर ३२ असारमा काठमाडौं फर्किएका मन्त्रीहरू पाँच दिनपछि मंगलबार राति हेटौँडा आएका हुन्। पार्टी नेतृत्वले ३२ असार र २ साउनमा दुई पटकसम्म राजीनामा दिन निर्देशन दिए पनि अन्तिम समयमा निर्णय स्थगित गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ५ साउनमा प्रदेश सरकारहरूको सत्ता समीकरणबारे भएको छलफलपछि एमालेले सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गर्न लागेको बताइएको छ।

सरकारमा एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री कृष्णप्रसाद पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात हेर्ने मन्त्री जयराम थापा, वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्।

मुख्यमन्त्री बानियाँले १ साउनदेखि लागू हुने गरी १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गरेपछि गाभिएका मन्त्रालयमा एमालेका केही मन्त्रीलाई अतिरिक्त जिम्मेवारी दिइएको थियो। एउटै मन्त्रालयमा तीन–तीन जना मन्त्री रहने व्यवस्था भएपछि सरकारको व्यापक आलोचना भएको थियो।

बागमती प्रदेशमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार साउन २०८१ देखि सञ्चालन हुँदै आएको थियो। कांग्रेसका इन्द्रबहादुर बानियाँले २० साउन २०८२ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। यसअघि बहादुरसिंह लामा मुख्यमन्त्री रहेका थिए, जसलाई कांग्रेसभित्रकै अविश्वास प्रस्तावमार्फत पदबाट हटाइएको थियो।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँले नेपालको संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसके सरकार ढल्ने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

Jantedhunga
प्रतिक्रिया