पहिरोले पाँचथरको पेट्रोल पम्प पुरियो, इन्धनका ट्यांकरसहित संरचनामा क्षति

Jantedhunga

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–४, जोरसालस्थित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्सद्वारा सञ्चालित पेट्रोल पम्प शुक्रबार राति आएको पहिरोले पुरिएको छ।

लगातारको वर्षापछि राति करिब ९ बजे माथिबाट खसेको पहिरोले पेट्रोल पम्पका विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको हो। पहिरोका कारण कम्तीमा तीन ट्यांकरभन्दा बढी डिजेल र एक ट्यांकरभन्दा बढी पेट्रोल पुरिएको सञ्चालकले जानकारी दिएका छन्।

पहिरोले पम्पको कार्यालय भवनसहित अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। घटनापछि पेट्रोल पम्पको सञ्चालन पूर्ण रूपमा बन्द भएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ।

सञ्चालकका अनुसार यस वर्ष मात्रै उक्त पेट्रोल पम्पमा तेस्रो पटक पहिरोले क्षति पुर्‍याएको हो। सरकारी मापदण्डअनुसार निर्माण गरिएको पम्प बारम्बार पहिरोको जोखिममा पर्दा सञ्चालनमा गम्भीर समस्या उत्पन्न हुँदै आएको उनले बताएका छन्।

स्थानीय प्रशासनले घटनास्थलको निरीक्षण गर्दै थप जोखिमको मूल्याङ्कन तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया