गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला

Jantedhunga

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोही मृत अवस्थामा फेला परेका छन्। मनाङको ङिस्याङ गाउँपालिका–६ स्थित ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा उनीहरूको शव फेला परेको हो।

मृत्यु हुनेमा जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो रहेका छन्। उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए। काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उनीहरूसँग करिब ७ हजार ५० मिटरको उचाइबाट सम्पर्क टुटेको थियो।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार आरोहीहरू सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहणका सामग्रीसमेत फेला परेका थिए।

लगातारको खोजीपछि शुक्रबार करिब ६ हजार ३०० मिटरको उचाइमा दुवै आरोहीको शव भेटिएको खनालले जानकारी दिए।

फेला परेका शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। आवश्यक परीक्षण प्रक्रिया पूरा भएपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा शव परिवारलाई बुझाइने जनाइएको छ।

गङ्गापूर्ण हिमालमा भएको यस घटनाले उच्च हिमाली क्षेत्रमा आरोहणका क्रममा हुने जोखिमलाई पुनः उजागर गरेको छ।

Jantedhunga
प्रतिक्रिया