बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउ सेवन गर्दा एक पुरुषको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्। उनकी श्रीमती करिब ५० वर्षीया नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ।
प्रहरीका अनुसार दम्पतीले सोमबार साँझ नजिकैको जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खानुभएको थियो। च्याउ सेवन गरेको केही समयपछि दुवै जनामा वान्ता, असहजता तथा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवारले तत्काल उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याएको थियो।
अस्पतालमा उपचारकै क्रममा रामे थापाको ज्यान गएको प्रहरीले जनाएको छ। नाम्सरी थापाको भने चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ।
स्वास्थ्यकर्मीहरूले जंगली च्याउको पहिचान गर्न कठिन हुने भएकाले परीक्षण नगरिएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो