प्रमुख दलले कमजोरी सुधारेर अघि बढ्नु नै राजनीतिक स्थायित्वको बाटो : शंकर पोखरेल

Jantedhunga

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रमुख राजनीतिक दलहरूले विगतका कमजोरीबाट पाठ सिक्दै आफूलाई सुधार गरेर अघि बढ्न सके मात्र नेपालको राजनीतिक भविष्य सुरक्षित हुने बताएका छन्।

शनिबार एमाले तारकेश्वर नगर कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी र राजनीतिक आन्दोलन कमजोर हुनुका कारण पहिल्याएर त्यसको समाधान गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार एमालेको संगठनलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक छ। पार्टी पुनर्गठनका लागि कार्ययोजना तयार पार्न कार्यदल गठन भइसकेको जानकारी दिँदै उनले केन्द्रको निर्णय कुर्नुभन्दा स्थानीय तहबाटै संगठन निर्माणको कामलाई गति दिन कार्यकर्तालाई आग्रह गरे।

पोखरेलले पछिल्लो समय देखिएको कार्यकर्ता पलायनप्रति पनि चिन्ता व्यक्त गरे। अहिले पार्टीबाट बाहिरिएका कार्यकर्तालाई भविष्यमा पुनः संगठनमा जोड्न कठिन हुन सक्ने भन्दै उनले समयमै संगठनलाई बलियो बनाउनुपर्ने बताए।

निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै उनले त्यसलाई अन्तिम असफलताका रूपमा लिन नहुने धारणा राखे। जनताको चाहना, भावना र मनोविज्ञानलाई आत्मसात् गर्दै पार्टी अघि बढ्न सके एमालेले वर्तमान चुनौतीको सामना गर्न सक्ने उनको दाबी थियो।

राष्ट्रका जटिल समस्या समाधान गर्ने क्षमता स्थापित प्रमुख राजनीतिक दलहरूसँगै रहेको उल्लेख गर्दै पोखरेलले नयाँ वा वैकल्पिक शक्तिका नाममा हुने राजनीतिक प्रयोगले अपेक्षित परिणाम दिन नसकेको तर्क गरे। जनतामाझ लोकप्रिय देखिने वा अरूलाई चुनौती दिने उद्देश्यले अघि बढ्ने प्रवृत्तिको परिणाम अहिलेको राजनीतिक अवस्थाबाट देखिएको उनको भनाइ थियो।

उनले एमालेको आगामी प्राथमिकता संगठनलाई पुनः व्यवस्थित गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनु रहेको बताए। केन्द्रबाट बन्ने कार्ययोजनासँगै स्थानीय तहका कमिटी र कार्यकर्ताले पनि आ–आफ्नो क्षेत्रमा संगठन सुदृढीकरणका लागि तत्कालै सक्रियता बढाउनुपर्नेमा उनले जोड दिए।

पोखरेलले प्रमुख राजनीतिक शक्तिहरूले आफ्ना कमजोरी पहिचान गरी सुधारको बाटो रोजेमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व र सुरक्षित भविष्य निर्माण गर्न सकिने धारणा दोहोर्‍याए।


Jantedhunga
प्रतिक्रिया