काठमाडौं । जेनजी आन्दोलनका क्रममा पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका तीन जनामाथि साढे ७ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।
भदौ २३ र २४ मा भएको तोडफोड तथा आगजनी घटनापछि प्रहरी वृत्त महाराजगञ्जले सुर्खेतका ४४ वर्षीय रणबहादुर सिंह, बुढानीलकण्ठका ३१ वर्षीय सुसम श्रेयठ र काभ्रेका ३९ वर्षीय रेखा सुनार (सानी सुनार) लाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
२ जना पुर्पक्षका लागि कारागार, १ जना धरौटीमा रिहा
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी मुद्दा दायर गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले रणबहादुर सिंह र सुसम श्रेयठलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
रेखा सुनारलाई भने २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।
साढे ७ करोड बिगो दाबी
घटनामा पीडितका रूपमा दीपक खड्काका भाइ जीवन खड्काले प्रहरीमा उजुरी दिएका थिए। उजुरीमा दिइएको विवरण अनुसार: बुढानीलकण्ठ–१ स्थित कित्ता नं. ५४ मा रहेको २ तले घर,बा २४ च ५०७० र बा.प्र.–०१–०२९ च ३३०४ नम्बरका निजी गाडी,बा १ झ ८८८१ र बा १ झ ४९२८ नम्बरका सरकारी गाडीसमेतमा आगजनी गरी व्यापक क्षति पुर्यायइएको उल्लेख छ।
साथै घरभित्रबाट चोरीमा परेका सामानमा ६ तोला सुनको रानिहार,सुनको चुरा, डायमण्ड–मोतीका हार ३ सेट,६ तोला सुनका ६ औंठी,मुगाको टप र औंठी १ सेट,सुनको तिलहरी १ थान,डायमण्ड टप ४ थान,बच्चाको सुनको ५ तोलाको सिक्री,नगद ५ लाख र ७ सय अमेरिकी डलर,ल्यापटप, कम्युटर, ब्यागलगायतका बहुमूल्य सामान,समेत चोरी भएको उल्लेख छ। कुल मिलाएर साढे ७ करोड रुपैयाँ बराबरको डाँका चोरी र क्षतिको दाबी गरिएको हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो