माघे संक्रान्तिमा तरुल लगाएत कन्दमुल र चाकु,लड्डु जस्ता परिकार किन खाइन्छ? जानी राखौं ।

Jantedhunga

नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई कन्दमुल खाने चाडको रुपमा पनि लिइन्छ ।

ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिन्छ। सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष पनि मान्ने गर्छन्, मगरसमुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्यारसेर्ल्हेस पनि भनिन्छ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा,भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डु, सख्खरका परिकार बनाएर खाइन्छ । यस्तै तरुल, सख्खरखण्ड, पिडालु लगायतका कन्दमुल (जमिनमुनी फल्ने खाद्यवस्तु) उसिनेर खाने गरिन्छ।

जाडो मौसममा वातावरणको तापक्रम एकदमै कम हुने कारणले शरीरमा रोग व्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ।यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, चाकु, तथा सक्कर चिनीबाट बनेको नभई विभिन्न तत्वबाट बनाइने हुदाँ यसले शरीरमा विभिन्न खनिज पदार्थको रुपमा समेत काम गर्दछ ।

त्यस्तै, घिउ आफैमा अन स्याचुरेटेड फैटी एसिड भएकोले यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलाई प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पाईन्छ । उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ।

कन्दुमुलका नामले चिनिने तरुल तथा पिडालु रेशेदार खानेकुरा हो । यसले शरीरमा कैलोरी बढाउनुका साथै शरीरमा ताप पैदा गर्छ । साथै तरुल तथा पिडालुको सेवनले शरीरमा चिल्लो तथा बोसो जम्न दिदैन ।

माघे संक्रान्तिको परिकार काठमाडौं उपत्यकामा सख्खर पकाएर मसला हाली बनाइएको चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ। पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाइन्छ। तराई–मधेश क्षेत्रमा तिल र गुडका खानेकुरा बनाएर खाइन्छ।

‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठयांग्रिएको शरीरलाई उष्णता प्रदान गर्नु हो’ चिकित्सक तथा आयुर्वेदका ज्ञाताहरु भन्छन्,‘यस्ता खानेकुराले शरीरलाई बल पनि दिन्छ।’


Jantedhunga
प्रतिक्रिया